बाँके । बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले शनिबार विहान नियन्त्रणमा लिएको छ । नरैनापुर–३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै शुक्रबार राति उनी फरार भएका थिए । उनलाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । संक्रमण पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि शुक्रबार पुष्टि भएका सङ्क्रमित क्वारेन्टिनबाट बाहिर निस्किएका थिए । १२ सङ्क्रमितलाई शुक्रबार राति करीब १२ बजे नेपालगञ्ज ल्याएर फरार सङ्क्रमित खोज्न खटिएको सुरक्षा टोलीले गाउँमै लुकेर बसेका अवस्थामा उनलाई बिहान फेला पारेको प्रहरी उपरीक्षक वलीले बताए । नरैनापुर मात्रै ८७ सङ्क्रमित पुगेका छन् ।








