काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बस्नेछ । सोमबारदेखि जारी रहेको बैठक निष्कर्षउन्मुख र सकारात्मक रुपमा अघि बढेको बताइएपनि कुनै सहमति हुन सकेको छैन ।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएपछि बिहीबार बसेको बैठकमा कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए । तर, साँझको बैठक भने एजेन्डामा प्रवेश नै नगरी सकिएको थियो । उक्त बैठकपछि ओली पक्ष र नेपाल पक्षका नेताहरुले अन्योलपूर्ण प्रतिक्रिया दिएका थिए ।
नेपाल पक्षका नेता घनश्याम भुसालले १० दिनदेखि केही पनि प्रगति नभएको भन्दै निराशा व्यक्त गरेका थिए । ‘१० दिनदेखि केही पनि प्रगति भएको छैन। जुन अवस्थामा पहिले थियौं अहिले त्यहीँ अवस्थामा छौँ’, बैठकपछि उनले भने । यस्तै, ओली पक्षका सुवास नेम्वाङले भने भोली बस्ने बैठकले एकतालाई टुंगोमा पुर्याउने आशा व्यक्त गरेका थिए ।
‘हामी विषयबस्तुलाई निष्कर्षमा पुर्याउने गरि छलफल गरिरहेका छौं। भोलिको बैठकले टुंग्याउनेमा आशावादी छौं,’ नेम्वाङले भने।








