काठमाडौं । विधिसम्मत १४ औं महाधिवेशनका लागि दवाव दिन नेपाली कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको भेला आज बस्दैछ ।
क्रियाशील सदस्यता विवाद टुंगो नलागेको, तल्लो तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको भन्दै जिल्ला सभापतिहरु छलफलमा जुटेका हुन् । भेलाको संयोजन नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी र काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानियाँले गरिरहेका छन् ।
भेलामा सहभागी हुन देशभरका झण्डै ४० जिल्ला सभापति काठमाडौं आएको बुझिएको छ । भेलाको संयोजन गरिरहेका नुवाकोट कांग्रेसका सभापति केसीले पार्टीभित्र पछिल्लो समय चर्चामा रहेका विषयमाथि छलफल गरेर साझा धारणा बनाउन खोजिएको बताउनुभयो। ‘पार्टी अत्यन्तै कमजोर अवस्थामा छ । महाधिवेशन समेत गर्न नसक्ने अवस्था छ । क्रियाशील सदस्यतामा मनपरी गरिएको छ ।
जिल्ला सभापतिलाई समेत गुमराहमा राख्न खोजिएको छ । यिनै विषयमा हामी छलफल गर्नेछौ,’ केसीले भन्नुभयो। भेला औपचारिक नभए पनि काठमाडौंमा उपलब्ध हुने सभापतिहरुको उपस्थिति रहने र निष्कर्षबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराइने केसीले जानकारी दिनुभयो । काठमाडौंको ठमेलस्थित होटल यात्रीमा हुने बैठक २ दिन चल्नेछ ।
आज जिल्ला सभापतिहरुले छलफल गरेर निष्कर्ष निकाल्नेछन् । भोली वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुसमेत भेलामा सहभागी भएर छलफल गर्ने जनाइएको छ ।








