बुटवल । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् । बिहीबार सत्ता गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले मुख्यमन्त्रीका लागि केसीलाई ४२ जना सांसदको समर्थन रहेको भन्दै प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।
केसीको पक्षमा माओवादी केन्द्रका १९, काँग्रेसका १८, जसपाका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् । प्रदेशसभामा स्पष्ट अल्पमतमा परेका शंकर पोखरेलले बुधबार अविश्वास प्रस्ताव छल्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
त्यसपछि प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार अपरान्ह ३ बजेभित्र बहुमत दाबी पेश गर्न आह्वान गरेका थिए । ८७ सदस्यीय प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य छन् । बुहुुमतको सरकार गठन गर्न ४१ प्रदेशसभा सदस्यको सङ्ख्या आवश्यक हुन्छ ।
विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका तीन र जनमोर्चाका एक गरी ४१ सदस्य भएको बताइएको छ । एमालेका पक्षमा लुम्बिनीमा भने ३८ सांसद मात्र छन्।








