काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ। संसद् सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको हो । गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ। एमालेको विरोधका बाबजुद शुक्रबार सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो ।
त्यसपछि पहिलोपटक आज संसद बैठक बस्न लागेको हो। आज पनि बैठक चल्न नदिने एमाले सांसद्को तयारी छ । एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको हो । सभामुख अग्निप्रसाद सापकोटाले भने सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै संसदमा छलफल गर्न नमिल्ने जवाफ दिँदै आएका छन् ।
आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।








