काठमाडौँ । देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ। आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै कर्णाली प्रदेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसैगरी राति देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ ।








