चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजमा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउदै बिरामीका आफन्तजनले अस्पताल तोडफोड गरेका छन । तोडफोडबाट अस्पतालको सिसामा सामान्य क्षति भएको छ । तोडफोडमा सङ्लग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख (एसपी) नान्तीराज गुरुङले जानकारी दिए । भरतपुर–२२, पदमपोखरीका १७ बर्षिय युवक आशिष सुनारको एपेन्डिक्सको अप्रेसन गर्ने क्रममा मृत्यु भएको परिवारजनको आरोप छ । अस्ति मंगलबार अस्पताल भर्ना भएका सुनारको हिजो बुधबार अप्रेसन भएको र सो अप्रेसन सफल नभएपछी आज बिहीबार पुनः अप्रेसन गरेको परिवारजनको आरोप छ । अस्पतालले बिरामीको आइसीयुमा राखी उपचार गराएको भने पनि उनको बुबा केदार सुनारले उपचारमा लापरबाही गरि मारिसकेको आरोप लगाए । सो सम्बन्धमा अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिश न्योपानेले बिरामीको मृत्यु नभएको र उनको उपचार भैरहेको बाताए ।








