चितवन । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको आयोजनामा आइतबारदेखि सेन्ट्रल कलेज जिल्लास्तरीय नकआउट फुबटल प्रतियोगिता सुरु भएको छ । कालिका नगरपालिका–४ स्थित खेल मैदानमा सुरु भएको प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्ने छ । प्रतियोगिताको आइतबार एक समारोहकाबीच नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले समुद्घाटन गरे ।
(वाइबी) पौडेलले खेल रेफ्रीलाई फुटबल हस्तान्तरण गरेका थिए । सो क्रममा बोल्दै सभापति श्रेष्ठले नेपालमा लोकतन्त्रलाई स्थापित गराउन गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै नयाँ पुस्तालाई फाउण्डेशनले खेलमार्फत जानकारी गराउने काम गरेको प्रशंसा व्यक्त गरे ।
उनले यस प्रतियोगिताले युवाहरुलाई खेलप्रति लगाव बढाउन र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै कार्यक्रमका विशिष्ट अतिथि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरका प्रिन्सिपल पौडेलले आफूले नेपालको खेल क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि प्रतियोगितामा मुख्य प्रायोजक बनेको बताए । उनले चितवनलगायतका जिल्लाहरुमा हुने हरेक खेलमा सेन्ट्रल कलेजको सहभागिता रहने गरेको भन्दै सदैव युवाहरुको साथमा सेन्ट्रल कलेज रहने बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा मिलिजुली युवा क्लव कालिका–३ र इन्द्रकमल युवा क्लव खैरहनीबीच प्रतिस्पर्धा भएको छ । कालिका नगरपालिका र चितवन जिल्ला फुटबल संघ सहयोगी संस्था रहेको प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेशन ट्रेनिङ सेन्टर रहेको छ । यस कलेजले उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ ।
समुद्घाटन कार्यक्रम प्रतियोगिताका संयोजक राजकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।








