काठमाडौँ । भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । सभामुख अग्नि सापकोटाले दुई तिहाई भन्दा बढी मतले पारित भएको घोषणा गरेका हुन् । शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए । उनीहरू सबैले संविधान संशोधनको पक्षमा मत दिएका हुन् । विपक्षमा पनि कुनै पनि मत परेन । संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची–३ मा नेपालको निशान छाप रहेको छ । उक्त अतिक्रमित भूभाग समेटेर नेपालले गत जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो । नेपालले अध्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो । उक्त विधेयक जेठ ९ गते संघीय संसद प्रतिनिधिसभामा दर्ता गरिएको थियो । मतदान हुनुअघि संशोधन प्रस्तावलाई सभामुख सापकोटाले ध्वनिमतका लागि निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएपछि विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका थिए । त्यसपछि सांसदको दस्तखतसहितको मतदानका लागि मत विभाजन गरिएको थियो । यसअघि कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि सदनमा दफावार छलफल भएको थियो ।








