चितवन । कैलाश कप सेभेन ए साइड फुटबलमा आज (शुक्रबार ) चार खेल सम्पन्न भएको छ । भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा एफएफसी दासढुङ्गा बिजयी भएको छ । दासढुङ्गाले गडुवा एफसीलाई टाईब्रेकरमा २० ले पराजित गरेको हो । निर्धारित समयमा १–१ गोल भएपछि टाईब्रेकरमा दासढुङ्गामा बाजी मारेको हो ।
खेलको तेस्रो मिनेटमा सुजन गुरुङले गोल गर्दै दासढुङ्गालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको १२ औं मिनेटमा गडुवाका मनिष तमाङले बराबरी गोल गरे । दोस्रो खेलमा आयाम युवा क्लबले वाक ओभर पाएको छ । रड्स रामपुर उपस्थित नभएपछि आयाम वाक ओभर पाउँदै सिधै प्री क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । आजको तेस्रो खेलमा आरआरएफसी हेटौंडाले पञ्चकन्या युथ क्लबलाई २(० ले पराजित गरेको छ । हेटौंडाको जितमा एरिस लामा र अशिम गुरुङले गोल गरे ।
चौथो तथा अन्तिम खेलमा नवदुर्गा एफसी कावासोतीले लगनशिल युथ गर्दासमाथि ४–१ को सानदार जित निकालेको छ । कावासोतीलाई जिताउन नबिन गाहा मगर र शिरिश दाहालले समान २–२ गोल गरे । गर्दासका सफल भण्डारीले एक गोल फर्काए । प्रतियोगितामा शनिबार पनि चार खेल हुनेछ । शनिबार पहिलो खेलमा युनिक एफसी र कालिका गौरीवारी भिड्नेछन् भने दोस्रो खेलमा आयोजक कैलाश युथ क्लब र जिरोना फुटबल क्लब भिड्नेछन् । यस्तै शनिबार नै अकलादेवी एफसी दासढुङ्गाले खेतबारी एफसी तथा युनिक एफसी (बी) ले साहारा क्लबको सामना गर्नेछ ।
३२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल १७ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद ४२ हजारसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।








