चितवन । चण्डीभन्ज्याङ एफसी र राइजिङ स्टार एफसी देवघाट भरतपुरमा जारी कैलाश कप सेभेन ए साइड फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । चण्डीभन्ज्याङ सर्वश्रेष्ठ नारायणी एफसीलाई तथा राइजिङ स्टार दासढुङ्गा एफसीलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । आइतबार भएको पहिलो प्री क्वाटरफाइनल खेलमा चण्डीभन्ज्याङले सर्वश्रेष्ठ नारायणीलाई २–१ पराजित गर्यो ।
चण्डीभन्ज्याङको जितमा राज भुसाल र सुरज गुरुङले गोल गरे । सर्वश्रेष्ठका हार्दिक गुरुङले एक गोल फर्काए पनि हार टार्न भने सकेनन् । आजै सम्पन्न दोस्रो प्री क्वाटरफाइनल खेलमा राइजिङ स्टारले दासढुङ्गालाई टाई ब्रेकरमा ३–२ ले पराजित गर्यो । निर्धारित समयमा एक–एक गोल भएपछि खेल टाई ब्रेकरमा धकेलिएको हो । यस अघि आजै समूह चरणका अन्तिम तीन खेल पनि भएको थियो ।
पहिलो खेलमा एफसीएन नौरङ्गेले एएफसी पिपलटारलाई १–० ले पराजित गर्यो । नौरङ्गेको जितमा विप्लव गुरुङले निर्णायक गोल गरे । यस्तै दोस्रो खेलमा बागेश्वरी एफसीले गङ्गोत्री एफसीलाई १–० ले पाखा लगायो । बागेश्वरीको जितमा कुशन गुरुङले गोल गरे । समूह चरणको अन्तिम खेलमा क्षेत्रपुर फुटसल एरिनाले भरतपुर ९ एफसीलाई १–० ले हरायो । क्षेत्रपुरलाई जिताउन प्रविण लिम्बुले गोल गरे ।
यि तिनै टोली प्री क्वाटरफाइनल प्रवेश गरेका छन् । ३२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल १७ गते हुनेछ । प्रतियोगिताको बिजेताले नगद ४२ हजारसहित ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले २२ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको खेल संयोजक सबिन अधिकारीले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।








