मकवानपुर । मकवानपुरको बकैयामा देउसी खेल्न गएका कलाकार चढेको बस पल्टिँदा ३२ जना घाइते भएका छन् । गए राति करिब सवा १ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ अजिङ्गरेमा देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बकैया–३ हात्तिसुडे देउसी खेली फर्किने क्रममा बागमती प्रदेश ०३–००१ ख १३०९ न.को बस दुर्घटना हुँदा बसमा सवार ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको उनले बताए । घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको उनले बताए ।
घाइते हुनेमा मकवानपुर हेटौडा उपमहानगरपालिका–५ सानोपोखरा बस्ने बर्ष ४० की निरु खड्का रहेकी छिन् । उनको टाउकोमा चोट लागेको, सोही वडाको मनकामना चोक बस्ने वर्ष ४९ को बेल बहादुर लोको हात र अनुहारमा चोट लागेको , राक्सिराङ गाउँपालिका–३ बस्ने वर्ष ४२ को रविन कुमार चेपाङको छातिमा चोट लागेको, हेटौंडा–११ नवलपुर बस्ने वर्ष ३६ कि सम्झना बिष्टको टाउकोमा चोट लागेकोले थप उपचारका लागि र अवस्था गम्भीर रहेकाले थप उपचारको लागि चितवन रिफर गरिएको उनले बताए ।








