चितवन । भरतपुर महानगरपालिकाले शहरका विभिन्न तीन स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ । महानगरपालिकाका अनुसार भरतपुरको चौबिसकोठी, गोन्द्रङ र रामनगरमा आधुनिक तरिकाको डिजिटल शौचालय निर्माण गर्न लागिएको हो ।
प्रत्येक शौचालयमा महिला र पुरुषका लागि छुट्टाछुट्टै पाँचपाँच वटा युरिनल रहनेछन् । आधुनिक सामग्रीको प्रयोग गरी बनाइने ती शौचालयको प्रयोग गर्न भने सर्वसाधारणले सिक्काको प्रयोग गर्नुपर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम राज जोशीले बताए । हाल चौबिसकोठीमा रहेको सावर्जनिक शौचालय सडक बिस्तारका क्रममा हटाइने भएपछि भरतपुर एयपोर्टकै जमिनमा रहेको व्यापारिक भवनसँगै डिजिटल शौचालय निर्माण गर्ने गरी गृहकार्य भइरहेको महानगरपालिकाले जानएको छ ।
शौचालय बनाउन कति जमिन चाहिने भन्ने विषय भने नागरिक उड्ययन प्राधिकरणसँग छलफल गरेपछि टुङ्गो लाग्ने बताइएको छ । गोन्द्रङमा रहने शौचालय भने त्यहीँ रहेको ढाट पछाडी बनाइने जोशीले बताए । पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रीहरूलाई लक्षित गर्दै सो स्थान पनि शौचालय निर्माणका लागि छनौट गरिएको महानगरपालिकाले जनाएको छ ।
गोन्द्राङमा बन्ने शौचालय अगाडी कम्तीमा पनि दुईदेखि तीन ओटासम्मको संख्यामा बसहरू अट्ने गरी पार्किङको व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । हाललाई लागतको इष्टिमेट गर्ने काम भइरहेको बताउँदै जोशीले अनुमानित २० लाख रुपैयाँमा तीन ओटै स्थानमा आधुनिक शौचालय तयार हुने जानकारी दिए । शौचालय निर्माणका लागि केही दिनभित्रै टेण्डर आह्वान समेत गरिने महानगरपालिकाले बताएको छ ।








