चितवन । नेत्र बिक्रम चन्दको नेकपाले आव्हान गरेको नेपाल बन्दका क्रममा चितवनबाट पक्राउ परेका १६ जना रिहा भएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विप्लव समूहले मंगलवार विहानै देखि चितवन लगायत देशभर वन्दको आह्वा गरेको थियो । विहानसवेरै देखि भएको बन्द साँझ पाँच बजे खुलेसँगै पक्राउ परेका कार्यकर्तालाई प्रहरीले रिहा गरेको हो ।
अवका दिनमा यस्ता कार्य नगर्ने नगराउने शर्तमा रिहा गरिएको चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । बन्द गर्दै हिँडेका ९ जना कार्यकर्तालाई नारायणगढको लायन्सचोकबाट प्रहरीले पक्राउ गरेको थियो भने अन्यलाई बाइपास रोड लगायत विभिन्न ठाउँबाट पक्राउ गरेको हो । दिनभर यातायात नचलेपछि लामो यात्रा गर्ने यात्रुहरु समस्यामा परेका थिए । अहिले चितवनका विभिन्न स्थानबाट लामो तथा छोटो दुरीका सवारी साधनहरु संचालनमा आएका छन् ।
बन्दको दिन यातायात अबरुद्ध गर्न खोजेपछी बिप्लबका कार्यकर्ता र प्रहरी बिच केहिबेर घम्साघम्सि समेत भएको थियो। बन्दका कारण चितवनको नारायणगढ, हाकिमचोक, टाँडि, पर्सा , चनौलि लगायतका बजारहरु बन्द रहेका थिए भने चोकचोकमा प्रहरी,शसस्त्रको वाक्लै उपस्थिती देख्न सकिन्थ्यो ।








