चितवन । पूर्वी चितवनको रत्ननगर ५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट मृत्यू भएपछि जनता र निकुञ्जको बीचमा बढ्दै गएको असमझदारी हटाउने सहमति भएको छ । गत असार ७ गते अधिकारीको मृत्यु भएपछि निकुञ्जको सौराहा सेक्टर कार्यालयमा आक्रोसित स्थानीय युवाहरुले तोडफोड र आगजनी गरेका थिए । तोडफोड र आगजनी गरेको आरोपमा निकुञ्जले ८ जनालाई पक्राउपूर्जि जारी गरेको थियो भने ४० जनालाई स्पष्टिकरणको लागि हाजिर हुन परिपत्र गरेको थियो ।
बुधवार निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यको रोहबरमा बसेको सर्बदलीय र सर्बपक्षिय बैंठकले पक्राउ पूर्जि जारी गरिएका ८ जना र स्पष्टिकरणका लागि परिपत्र गरिएकाहरुको मुद्धालाई सामान्यकरण गर्दै निकुञ्ज र जनता बीचको असमझदारी अन्त्य गर्ने सहमती भएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।
बैठकमा नगर स्तरीय ६ राजनीतिक दल,वडाध्यक्ष,निकुञ्जका अधिकारी,क्षेत्रीय होटल संघ,रेवान,नेचर गाइड,नेपाली सेना,राष्ट्रिय प्रकृति संरक्षण कोष,पीडित परिवारको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख संरक्षण अधिकृत आचार्यले निकुञ्ज र जनताको बीचको सम्बन्धलाई पहिलाको जस्तै बनाउन घटनालाई पाठको रुपमा लिएर अगाडि बढ्नु पर्ने बताए ।
मृगकुञ्जका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका राममणि खनाल,समाजबादीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे,माओवादीका खगराज खनाल,राप्रपाका गोविन्द अधिकारी,वडाध्यक्ष कृष्ण महतो,निकुञ्जका मध्यवर्ती शाखा प्रमुख गणेश तिवारी,सौराहा शाखा प्रमुख विश्वबाबु श्रेष्ठ,खड्कदल गण कसराका गणपती शशीकुमार कार्की,क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई,बाघमारा वनका अध्यक्ष जीतु तामाङ,जनकौली वनका अध्यक्ष जोगेन्द्र महतो लगायतको सहभागिता रहेको थियो ।








