चितवन । पिसिआर परीक्षणमा नेगेटिभ आएपछि घर जाने तयारी गरेका चितवनका नौ जना पुरुषमा कोरोना पुष्टि भएको छ । माडी नगरपालिकाको दिवाकार स्मृति विद्यालय रमाइलोडाँडाको क्वारेटाइनमा रहेका पुरुषको दोस्रोपटक पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको हो ।
“जेठ २७ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा बिहिबार पुष्टि भएका नौ जना पुरुषमा नेगेटिभ आएको थियो ।” माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले भने, “त्यतिखेरको रिपोर्ट शंका लागेर फेरी परीक्षण गर्दा पोजेटिभ आयो ।”
यसअघि दिवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको थियो । फेरी असार ८ गते १२ जनाको परीक्षण गरिएकोमा ४ जनामा पोजेटिभ आएको थियो । त्यसपछि २८ जनाको स्वाब संकलन गरि पुनः परीक्षणका लागि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पठाउँदा नौ जनाको रिपोर्ट पोजेटिभ आएको मेयर ढकालले बताए ।
माडी नगरपालिकाले क्वारेन्टाईनको समय अवधि पुरा गरेका सवैको पिसिआर परीक्षण गरिसकेको छ । दिवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा ३९ जना बसेका थिए । त्यसमध्ये २१ जनामा कोरोना पुष्टि भैसकेको छ । नेगेटिभ आएका व्यक्तिलाई त्यस क्वारेन्टाइनमा नराखिने ढकालले बताए । “यहाँ कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनमा राख्दा उनिहरुलाई जोखिम रहेको छ । संक्रमित व्यक्ति पत्ता लगाउन पटक पटक परीक्षण गर्नुपरेको छ ।” उनले भने, “अव उनिहरुलाई अन्यत्र सिफ्ट गछौँ ।”
माडी नगरपालिकामा बिहिबार राति ४९, ६३, २६, ४५, ५२, १७, २५, २०, १७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनिहरु सवै करिव एक महिना अघि भारतबाट आएका व्यक्ति हुन् । माडी नगरपालिकामा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ । सोमेश्वर माडीको क्वरोन्टाइनमा रहेका ६ जनामा पनि कोरोना संक्रमण भएको थियो । संक्रमित व्यक्तिको बगौडा अस्पतालमा उपचार हुने भएको छ ।
यस्तै बिहिबार भरतपुरमा परीक्षण गरिएका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुष्टिहुनेमा माडीका नौ जना सहित चितवनका १२, नवलपुरका २१, गोदावरीका एक जना रहेका छन् । भरतपुर महानगरपालिका १६का २१ बर्षिय पुरुष, भरतपुर महानगरपालिका १५की ३७ बर्षिय महिला र रत्ननगर नगरपालिकाकी २७ बर्षीय महिला रहेकी छन् ।
उत्ता गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२, २५ वर्षीय पुरुष गरि ७ जना, कावासोती नगरपालिकाकी ३७, २५ वर्षीय २ महिला सहित, २४, २४, ३०, ३३, ३०, ३५,२२, १८, २९, ५८, ३५, १८ वर्षीय पुरुष गरि १२ जना र चितवन मेडिकल कलेजमा उपचाररत गोदावरी ०७ का ५० वर्षीय पुरूष कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
बिहिबार भरतपुरमा २ सय १४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ सय ८० जनाको भने रिपोर्ट नेगेटिभ आएको थियो ।









