चितवन। बोटलर्स तराई नेपाल लिमिटेडका मजदुरहरु फेरि आन्दोलित भएका छन । बोटलर्सको वेयर हाउस विभागमा लोडरअनलोडको काम गर्दै आएका मजदुरहरु आफूहरुलाई कम्पनिले बहाना बनाएर रोजगारीबाट हटाएको भन्दै गत वर्ष चैत ६ गतेबाट आन्दोलन गर्दै आएका थिए ।
आन्दोलन चलिरहेको समयमा कोरोना माहामारी संगै जारी लकडाउन कारण मजदुरहरले आन्दोलन स्थगित गरेका थिए । तर, असार १ गतेबाट कम्पनीको कामकाज सञ्चालन भएसंगै रोकिएको आन्दोलन अखिल नेपाल ट्रेड युनियन महासंघ घटक अखिल नेपाल मजदुर संघ बोटलर्स तराई नेपाल लिमिटेडमार्फत मजदुरहरुले आन्दोलन फेरी जारी गरेको हो । ४४ जना मजदुर आन्दोलनमा सहभागी भएको संघका अध्यक्ष बुद्धिमान सेन्चुरीले जानकारी दिनुभएको छ । विगत एक दशकदेखि कम्पनीमा मजदुरी गर्दै आइरहेकाहरुलाई पुनर्बहालीको माग गर्दै पुनः आन्दोलनमा होमिएको उहाँले बताउनु भयो ।
सेन्चुरीले कम्पनीमा कार्यरत सबै मजदुरलाई पुनर्बहाली गर्न शुक्रबारदेखि आन्दोलनका शुरु गरेको बताउनु भयो । संघको निर्णयअनुसार आज शनिबार बिहान १० बजेदेखि २ बजेसम्म र भोली आइतबार बिहान १० देखि साँझ ६ बजेसम्म ढुवानीका सम्पूर्ण साधनहरुको आवतजावत ठप्प पार्ने चेतावनी दिइएको छ । केही दिनको आन्दोलनबाट पनि माग सम्बोधन नभए असार १५ गतेदेखि १५ दिनसम्मका लागि कम्पनीका सबै ढुवानीका सवारीसाधनलाई आवतजावतमा पूर्ण रोक लगाउने अध्यक्ष सेन्चुरीले जानकारी दिनुभयो ।
गएको डिसेम्बर महिनाबाट कम्पनीले लोड÷अनलोड गर्ने मजदुरहरुलाई हटाएको थियो । कम्पनीले ढुवानी ठेकेदारसँग विभिन्न बहाना बनाएर आफूहरुलाई हटाएको आन्दोलनमा सहभागि मजदुरहरुले बताएका छन । सोही आधारमा गत चैत ६ गतेदेखि उनीहरुले आन्दोलन गर्दै आएका हुन ।








