काठमाडौं । सरकारले सलह नेपाल आउने सम्भावना नरहेको निष्कर्ष निकालेको भए पनि शनिबार बिहानैदेखि फट्याङ्ग्रा जातका यी कीरा देशका विभिन्न जिल्लामा देखापरेका छन्।
मनसुन सुरु भएपछि सामान्यतया पूर्वबाट पश्चिमतर्फ हावा चल्ने र सलह हावा जुन दिशातर्फ वहन्छ त्यतै हुर्रिने जात भएकाले मनसुन अघिसम्म नेपाल नभित्रिएको यो कीरा नआउने अनुमान आफूहरूले गरेको तर विगत २–३ दिनदेखि अचानक हावा दक्षिण-पश्चिम दिशाबाट उत्तर-पूर्वतर्फ चलेका कारण सलह भित्रिएको दाबी यतिबेला कृषि क्षेत्रसम्बद्ध सरकारी अधिकारी गरिरहेका छन्।
कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ वैज्ञानिक सुनील अर्यालले शनिबार भनेका छन्, ‘सामान्यता मनसुन सुरु भएपछि नेपालमा पूर्वबाट पश्चिततर्फ हावा चल्छ।’
सोही आधारमा कृषि मन्त्रालयको कार्यदलले पूर्वी वायुका कारण नेपालमा सलह आउने सम्भावना नरहेको प्रतिवेदन मन्त्रालयमा बुझाएको उनको दाबी छ।
नार्कका वैज्ञानिक अर्यालले शनिबारै अगाडि भनेका छन्, ‘तर विगत २ दिनदेखि दक्षिण-पश्चिम दिशाबाट उत्तर-पूर्वतर्फ हावा चलेको छ।’ अर्थात् अनुमानविपरीत हावा उल्टो चलेका कारण सलह नेपाल छिरेको उनको दाबी हो।
तर यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् भने मनसुनका बेला नेपालमा पूर्वी मात्र होइन, पश्चिमी वायु पनि चल्ने नियमित प्रक्रिया भएको बताउँछन्।
‘मनसुनी वायु दुई प्रकारको हुन्छ,’ जिज्ञासामा मौसमविद् राजु प्रधानांगले आइतरबा बिहान भने, ‘एउटा बंगालको खाडीबाट आउने पूर्वी वायु र अर्काे अरेबियन सागरबाट भित्रिने पश्चिम वायु।’
यो हरेक मनसुनमा हुने नियमित प्रक्रिया हो। मौसमविद् प्रधानांगका अनुसार अहिले सलहका कारण मात्र पश्चिमी वायुको चर्चा बढेको हो।
‘प्रमुख रूपमा नेपालमा मनसुन भित्र्याउने वायुचाहिँ नेपालको पूर्वी भागबाट भित्रिने बंगालको खाडीको वायु नै हो,’ उनले भने, ‘तर यस अवधिमा अरेबियन सागरको वायु पनि नेपाल भित्रिन्छ, जुन दक्षिण–पश्चिमबाट चल्छ।’
तर केही दिनयता उत्तर प्रदेशमा एउटा न्यून चापीय प्रणाली बनेकाले पश्चिमी वायुलाई थप बल पुगेकाे मौसमविद् प्रधानांगको भनाइ छ। ‘यो प्रणाली भोलि (सोमबार) बाट कमजोर हुने सम्भावना छ,’ उनले भने।
योसँगै पश्चिमी वायु पनि कम हुने उनको अनुमान छ। ‘पश्चिमी वायु नै बन्द हुन्छ भन्न त सकिन्न,’ मौसमविद् प्रधानांगले भने, ‘तर यो केही कमजोर हुने देखिएको छ।’
सरकारका कृषि विज्ञले दाबी गरेजस्तै पश्चिमी वायुकै कारण सलह नेपालमा भित्रिएको हो भने भोलिदेखि यो वायु कमजोर भएसँगै थप सलह आउने जोखिम पनि टर्ला त?








