चितवन । भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ । महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई गर्भवती बोक्न एम्बुलेन्स खरिद गरिदिने उल्लेख छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्भवती महिलालाई प्रसूति गराउन आउन सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिदिन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अभावमा अस्पताल सम्म पुग्न असहज नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स किनिदिन लागेका हौँ ।” दाहाल प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालको वहिरङ्ग सेवामा उपचार गर्न आउने महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क टिकट व्यवस्था गर्नुभएको थियो ।
आउँदो वर्षबाट सबैखाले अपाङ्गको टिकट समेतको भुक्तानी महानगरले गर्ने भएको छ । प्रमुख भए लगत्तै आफू भरतपुर अस्पतालको स्तर वृद्धिमा लागि परेको भन्दै उहाँले केन्द्रीयस्तरको भएसँगै यस क्षेत्रका जनताले थप सुविधा पाउने बताउनुभयो । गत वर्ष महानगरपालिकाले भरतपुर अस्पताललाई आर्थिक सहयोग गर्दै आएको छ । दाहालले थप्नुभयो, “चितवनसहितका १९ जिल्लाका बिरामीको उपचार गर्ने यस अस्पतालको बिकासका लागि जस्तो सुकै सहयोग गर्न महानगर तयार छ ।” प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पतालको रुपमा परिचित यस अस्पतालमा वर्षमा १४ हजार हाराहारी गर्भवतीले बच्चा जन्माउँछन् ।








