काठमाडौं । लकडाउन पछि पहिलो दिन खुलेको शेयर बजारमा परिसूचक नेप्से घटेको छ । कारोबार खुलेपछि करिब एक घण्टासम्म लगातार घटेको नेप्से त्यसपछि भने केही सम्हालिएको थियो । बजार लगातार घट्न थालेपछि लगानीकर्ताले शेयर विक्री गर्न छाडेर माग बढाउँदा बजारमा विस्तारै सुधार देखियो । तरपनि सोमबारको बजार बन्द हुँदा सम्म नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ०३ अंकले घटेर २ सय ५६ दशमलव २९ अंकमा बन्द भएको छ । दिनभर १ सय ३० कम्पनीको ३४ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ७० हजार ७६ कित्ता शेयर खरिद विक्री भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको ३ करोड ४३ लाख रुपैयाँ बढीको भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीको शेयरधनीले कमाएका छन् । यि कम्पनीका शेयधनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । यस्तै स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त वित्तीय संस्था, इन्फीनिटी लघुवित्त वित्तीय संस्था लगायतका कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले गुमाएका छन् । जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार, र अन्य समुहका सूचकहरु बढेका छन् । बैंकिङ, निर्जीवन बीमा, विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत, माइक्रोफाइनान्स, म्युचुअल फण्ड समुहका सूचकहरु भने घटेका छन् । सोमबार देखि खुलेको नेप्से बजार लकडाउन अघि परीक्षणमा रहेको एक घण्टा समय घटाएर पुरानै समय अनुसारको व्यवस्था बमोजिम खोलिएको हो । यसअघि लकडाउनकै अवधिमा पनि नेप्से वैशाख ३० र ३१ गते खोलिएको थियो ।








