काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन् । नेपाल जेसिजले आज यहाँ आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । “जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन”, उनले भने ।
महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले जेसिजले युवालाई ‘लिबरल डेमोक्रेसी’का बारेमा जानकारी गराउनु जरुरी रहेको बताए । नेपाल जेसिजका निवर्तमान अध्यक्ष अरुणेश्वर खनालले हाल देशभर झण्डै २०० संस्थामा १० हजारभन्दा बढी युवालाई नेपाल जेसिजमा आबद्ध गराइएको बताए ।
नेपाल जेसिज सन् २०२२ का लागि अध्यक्ष जेसिआई सिनेटर लालमणि भण्डारीले पदभार ग्रहण गरेका थिए। एकवर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।








