रियो दि जेनेरियो । ब्राजिलको पेट्रोपोलिस सहरमा चार दिनअघि गएको बाढीपहिरोमा अझै दुई सयजना हराइरहेको विवरण सार्वजनिक भएका छन् । मुसलधारे वर्षाका कारण आपतकालीन समूहहरूलाई बाढीमा फसेको व्यक्तिको उद्धारमा कठिनाइ भएको छ । बाढीपहिरोमा पुरिएका व्यक्तिको जीवितै उद्धारको आशा अब हराउन थालेको समूहहरूले बताएका छन् ।
बाढीमा २७ बालबालिकासहित १४६ जनाको मृत्यु भएको र १९१ जना अझै हराइरहेकाे सरकारी अधिकारीहरूले बताएका छन् ।
नाै सयभन्दा बढीलाई विद्यालय र आश्रयस्थलमा राखिएका छन् । शनिबार कामदारहरूले बाक्लो कुहिरोमा भग्नावशेष र हिलोबाट कोदालो र बेल्चाले खनेका थिए । उद्धार कार्यमा स्वयंसेवकहरूको समूहले पनि सहयोग गरेको छ । केही क्षेत्रमा हाते औजारले खोजेलेर हराइरहेका व्यक्तिको खोजी भइरहेको छ । उद्धारमा ४२ वटा सुँघ्ने कुकुरहरू परिचालन गरिएका छन् ।
‘यहाँ ठूला औजारहरू ल्याउन असम्भव छ,’ स्थानीय अग्नि विभागको विशेष उद्धार समूहका संयोजक रोबेर्टो अमरालले भने, ‘त्यही भएर हामीले कमिलाले जस्तै काम गरेका छौं ।’








