चितवनः चितवन प्रहरीले चारवटा ट्रकमा लुकाई ल्याएको अबैध कपडा बरामद गरेको छ । पूर्बी चितवनको खैरहनीबाट ठूलो परिणाममा अबैध कपडा बरामद गरेको हो । पूर्ब पश्चिम राजमार्गमा बिरगञ्जबाट नारायणगढ तर्फ आउँदै गरेका चारवटा ट्रकबाट कपडा बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार ८६ पोका कपडा बरामद भएको छ । ना ६ ख ५०६१ नम्बरको ट्रकमा २५ पोका, ना ६ ख ११३ मा २१ पोका, ना ६ ख ११६६ मा ९ पोका र ना ७ ख ९२२४ मा ३१ पोका कपडा बरामद भएको उहाँले जानकारी दिनुभयो । ती पोका भित्र कार्पेट, पर्दा सहित मानिसले लगाउने कपडाहरु रहेका छन् ।
रड बोकेका ट्रकमा लुकाएर कपडा ल्याईएका थिए । पोकाभित्र साना पोका पारेर राखिएकाले बिहानबाट गन्न थालिए पनि एकिन तथ्याङ्क आईसकेको छैन । बिलबिजक नगरि भन्सार छलेर कपडा ल्याईएको सूचनाका आधारमा बरामद गरिएको हो । चारवटा ट्रकका चालक समेत नियन्त्रणमा लिईएको छ । अधिकारीले दिउँसो अबेर सम्म कपडाको एकिन तथ्याङ्क आउने जानकारी दिनुभयो ।








