नवलपुर । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गरी स्थापना गरिएका शैक्षिक परामर्श केन्द्र ९कन्सल्टेन्सी०हरु कोरोना भाइरस संक्रमणका कारण संकटमा परेका छन् । यस्तै अवस्था अझै केही समय रहेमा पेशाबाटै पलायन हुने अवस्था आउने शैक्षिक परामर्श संघ नवलपुरका अध्यक्ष लोकनाथ सिंखडाले बताउनुभयो । विश्व ब्यापी बनेको कोरोना संक्रमण फैलिने डरले हवाइ उडान बन्द हुनुका साथै अध्ययनका लागि विदेश जाने अवस्था नरहेपछि यस्ता कन्सल्टेन्सीहरु सबैभन्दा बढी मारमा परेका हुन् । अष्ट्रेलिया, यूके, क्यानाडा, न्यूजिल्याड, लगायतका यूरोपीयन देशहरुका साथै जापान, बंगलादेश, भारत बैंङलोर लगायतका ठाउँमा अध्ययनका लागि नेपालबाट लाखौं विद्यार्थी जाने गरेका छन् । तर कोरोना संक्रमणका कारण बैदेशिक शिक्षामा लैजान रोक लगाइएको छ । देशभर गरी एक सय भन्दा बढी शैक्षिक परामर्श केन्द्रहरु रहेका छन् । कन्सन्टेन्सीहरुले अध्ययनका लागि विदेश जान चाहेका विद्यार्थीलाई परामर्श दिनुका साथै भिसा प्रोसेसिङ गरिदिने गरेका छन् । नवलपुरमा मात्रै चार दर्जन बढी कन्सल्टेन्सी छन्, जसमध्ये २७ वटा कन्सल्टेन्सी संघमा आवद्ध रहेको सिंखडाले बताउनुभयो । संघमा आवद्ध नभएकासहित नवलपुरको कावासोतीसहित गैडाकोट, दलदले, अरुणखोला, चोरमारा लगायतका मुख्य बजारमा विद्यार्थीलाई विदेश पठाउन सहयोग गर्ने उद्श्यले कन्सल्टेन्सी खोलिएका छन् । तर चैत ११ गतेदेखि जारी लकडाउनले ती सबैं कन्सल्टेन्सीहरु बन्द छन् । बन्द रहेको अवस्थाका घर भाडा मात्रै सहुलियत पाउन सकेमा राहत हुने कन्सल्टेसी सञ्चालकहरु बताउँछन् । यद्यपी घर भाडा पनि सहुलियत पाउन नसकिएमा पेशाबाट पलायन हुनुपर्ने अवस्था आउने संघका अध्यक्ष सिंखडाले बताउनुभयो ।








