चितवन । काेराेना भाइरस कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले भिडभाड हुदा कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च हुने भएकाले यसपालि मेला नगर्ने बताएको हाे।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भाइरस संक्रमणको जोखिम यथावत् रहेकोले यो वर्ष बोलबम मेला नगर्ने बताउनुभयो । उनले यस वर्ष जिवनको जोखिम बाट बच्न “चितवन, नवलपुर र तनहुँको प्रसाशनसँगको छलफलबाट मेला नगर्ने निर्णय गरेकाे बताउनुभयो। र यस वर्षको बाेलबम मेला देवघाट नअाइ घरमा बसेर मनाउन उनले आग्रह गर्नुभयो।
समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले अघिल्लो वर्षको साउनको सोमबार मात्र दैनिक १५ देखि २० हजारको हाराहारीमा मान्छे आउने हुँदा यस वर्ष भने भिडभाड नगरी सामाजिक दूरी कायम गर्न नसकिने भएकाले देवघाट मेला नआउन आग्रह गर्नुभएको छ।
देवघाट क्षेत्रमा पुजाअर्चना गर्न हजारौंकाे सख्यामा भिडभाड लाग्ने गर्दथ्याे। तर यस वर्ष काेराेना भाइरस संक्रमणको त्रासले गर्दा देवघाट मेला नगर्ने भएको हो। देवघाटमा करिब १५० घरमा पूजा सामग्री पसल सञ्चालनमा छन् । मेलालाई लक्षित गरी सडक किनारमा झण्डै एक हजार बढिले पूजा सामग्री बेच्न बस्ने गर्दथे । तर भने अहिले देवघाट सुनसान छ। जसकाे प्रत्यक्ष असर देवघाटमा व्यापार व्यवसाय गरेर जीवन निर्वाह गर्नेमा पर्न गएको छ।








