चितवन । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक माहोल पनि तातिदै गएको छ। तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेका सत्ता गठबन्धनले ६ महानगरको सिट बाँडफाँडमा सहमति जुटाएका छन् । ६ मध्ये ३ वटा महानगरपालिकामा कांग्रेसलाई मेयरमा सघाउने र बाँकी ३ वटामा नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपालाई १ र १ वटा छुट्याइएको छ।
आफ्नो बलियो पकड हुँदाहुँदै पनि कांग्रेसले चितवन र पोखरा महानगरपालिकामा मेयरको दाबेदारीबाट पछि हटे पछि त्यस ठाउँका काङ्ग्रेस कार्यकर्ता पार्टी नेतृत्वसंग रुष्ट बनेका छन। काङ्ग्रेसले चितवनमा माओवादी र पोखरा (कास्की) मा समाजवादीलाई मेयर पदमा समर्थन गरेको छ । तर उक्त जिल्लाका काङ्ग्रेस कार्यकर्ताहरु यसलाइ मान्न तयार रहेको देखिदैन।
दुवै जिल्लाका पार्टी संयन्त्रले नेतृत्वको चाहनालाई पुन:विचार गर्न आग्रह गरेको छ। पार्टी अध्यक्ष शेरबहादुर देउवालाई भेटी गठबन्धन जोगाउने नाममा समर्पणको राजनीति त्याग्न आग्रह गरेका छन्। रेणु दाहाललाई चितवनको मेयरमा समर्थन गरेर पार्टीको ग्रासरुटमा विद्रोहको स्थिति उत्पन्न हुने सम्मको तथ्यलाई बुझ्न देउवासँग आग्रह गरेका थिए। त्यसो त चितवन काङ्ग्रेसले लामो समय देखि भरतपुरमा काङ्ग्रेसले मेयर पाउनु पर्ने दाबी गर्दै आएको थियो।
यसकै बिरोधमा केहि दिन अघिमा भरतपुरका ५० बढी सकृय कार्यकर्ताले स्वतन्त्र बस्ने भन्दै पार्टीबाट राजिनामा समेत दिएका छन। त्यतिमात्र हैन भरतपुरका २९ वटै वडा सभापतिहरुले भरतपुरको मेयर काङ्ग्रेसले नपाए मेयर लगायत सबै वडामा बिद्रोह गर्दै स्वोतन्त्र उमेदवार उठाउने चेतावनी दिएको थियो। शत प्रतिशत चितवन काङ्ग्रेस गठबन्धनमा काङ्ग्रेसले मेयर पाउनु पर्ने अडानमा रहदा पनि केन्द्रले बेवास्ता गर्दै भरतपुर माओवादीले भागमा पारेको छ। जिल्लाबाट नेतृत्व गरेका केन्द्रिय सदस्यहरुले यसको ब्यापक बिरोध गरिरहेका छन। अघिल्लो पटक मेयरको टिकट पाएर पनि माओवादीलाइ छाड्न बाध्य बनेका दिनेश कोइरालाले ब्यापक बिरोध जनाएका छन।
कुनै पनि हालतमा काङ्ग्रेस केन्द्रले यो निर्णयको पुनर्बिचार गर्नु पर्ने उनको माग छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले यस पटक पनि चितवनमा जसरी भए पनि छोरी रेणु दाहाललाई नै मेयरमा जिताउने अभियानमा लागेका छन् । कांग्रेस सभापति देउवा अहिले नेता कार्यकर्तालाई भन्दा पनि प्रचण्डलाई बढी महत्व दिने गरेको आरोप लाग्ने गरेको छ । यो निर्णयबाट स्थानीय नेता तथा कार्यकर्ता भने खुशी छैनन् । त्यसो त कांग्रेसको शेखर कोइराला पक्ष शुरुदेखिनै चुनावी तालमेलको विरोध गर्दै आएका छन् ।
आफूलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याएको गुन तिर्न देउवाले गठबन्धनको नेतृत्व नेपाली कांग्रेसले गरेको हुँदा अरु दलको चाहनालाई पनि बुझ्नुपर्ने व्यवहारिक बाध्यता रहेको भनेर सम्झाउने प्रयास गरेका छन् । सत्ता गठबन्धनले चुनावी तालमेल गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि राप्रपा नेपाल लगायतका सानासँग चुनावी तालमेल गरेको छ । एमालेलाई एक्ल्याउने रणनीतिका साथ गठबन्धनले चुनावी तालमेल गरेको हो । एक्लाएक्लै जाँदा एमालेसँग पराजित भईने डर गठबन्धन दललाई छ। विगतमा सबै भन्दा धेरै स्थानमा विजय हासिल गरेको एमालेलाई गठबन्धनका कारण हिजोको साख जोगाउन मुस्किल पर्ने देखिन्छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि निर्धारित गरिएको छ ।








