देवघाट । देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९८० का लागि ५२ करोड ६ लाख ६४ हजार रूपैयाँबराबरको बजेट ल्याएको छ । शुक्रबार सम्पन्न गाउँसभाबाट पालिकाभित्रको विकासका लागि विभिन्न शीर्षकमा उक्त बजेट ल्याएको हो ।
गाउँपालिकाले आउँदो आर्थिक वर्षका लागि कृषि तथा पशुपक्षी, शिक्षा तथा स्वास्थ्य, भौतिक पूर्वाधार तथा वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
चालू खर्चतर्फ ३३ करोड ४० लाख तीन हजार रूपैयाँ र पुँजीतर्फ १८ करोड ६६ लाख ६१ हजार रूपैयाँ बजेट अनुमान गरिएको गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए ।
गाउँपालिकाभित्रको आर्थिक विकासका लागि कृषितर्फ अदुवा तथा बेसारको खेती विस्तार गरी उत्पादन तथा बजारीकरणको व्यवस्था मिलाउने, माटोको गुणस्तर परीक्षण गर्न घुम्ती शिविर, कृषिमा आवश्यक यन्त्र–उपकरणको व्यवस्थापन, मल तथा बीउको व्यवस्था आदिलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै, पशुपक्षीको उपचारका लागि औषधि उपचारको व्यवस्था, बाख्राको खोर सुधार गरेर बाख्रापालनको पकेट क्षेत्र स्थापित गराउने, पशुपालक कृषकको क्षमता विकासका लागि तालिम तथा लोकल कुखुरा प्रवद्र्धन गर्नका लागि पनि बजेटले प्राथमिकता पाएको छ । दुग्ध क्षेत्रमा पनि लगानी बढाउन गाउँपालिकाले बजेट छुट्टयाएको छ ।








