चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले स्वास्थ्य बिमा कार्यक्रम स्थगन गर्ने भएको छ । अस्पतालले शनिबार एक सूचना जारी गर्दै २०७३ भदौदेखि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम साउन १ गतेदेखि स्थगन गर्ने भएको जनाएको हो ।
अस्पतालका निर्देशक प्रा. डा दयाराम लम्सालले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा सेवा २०७३ सालदेखि प्रदान गर्दै आएकोमा सरकारको आर्थिक वर्ष २०७९-८० बजेट वक्तव्यमार्फत साउन १ गतेदेखि सरकारी तथा सामुदायिक सेवा प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने भनी निर्णय भएकाले स्थगन गर्नुपरेको जनाएका छन् ।
सिएमसीले रेफरल स्वास्थ्य संस्थाका रुपमा उपलब्ध गराउँदै आएको बहिरङ्ग, अन्तरङ्गलगायत आकस्मिक सेवाअन्तर्गत दिँइदै आएको सम्पूर्ण स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरिएको पनि सूचनामा उल्लेख गरिएको छ ।
आगामी दिनमा सरकारबाट निर्देशन भएमा निजी स्वास्थ्य प्रदायक सेवाबाट स्वास्थ्य बिमा कार्यक्रम लागू गरिने पनि प्राडा लम्सालले जानकारी दिएका छन् ।सिएमसीबाट प्रदान हुने अन्य नियमित सेवाहरु इथावत सञ्चालन हुने सूचनामा जनाइएको छ ।









