चितवन । चितवन जिल्ला स्तरीय द्वन्दप्रभावित महिला सञ्जालको अध्यक्षमा पार्वती खड्का चयन हुनुनभएको छ । द्वन्द प्रभावित महिलाहरुको मानव अधिकारको प्रत्याभुत सहितको न्याय, परिपुरणको प्राप्तिका लागि ७ वटै पालिकाका महिलाहरु संगठित भई विशेष भेला मार्फत समिती चयन गरेका हुन् ।
महिलाहरुलाई न्यायका लागि आवाज उठाउन सशक्त गर्ने उदेश्यले आदर्श नारी विकास केन्द्र चितवनको सभाहलमा ७ वटै पालिकाको प्रतिनिधित्व हुनेगरि १३ सदस्यीय समिती चयन गरिएको हो । समितीको उपाध्यक्षमा लालकुमारी सिलवाल, सचिवमा सपना राना, सहसचिव यमकला चुहाई र कोषाध्यक्ष लक्ष्मी नेपाली रहनुभएको छ ।
यस्तै सदस्यहरुमा दण्डमाया रोका कडेल, रिता बोगटी, रुकमाया अधिकारी , मिना घिसिङ,लक्ष्मी घले,लक्ष्मी अधिकारी रहनुभएको छ । यस्तैगरि आजै सल्लाहकार समिती समेत चयन गरिएको छ । सल्लाहकार संयोजकमा सरिता पौडेल पौडेल र संरक्षक आदर्श नारी विकास केन्द्रका अध्यक्ष मीना खरेल रहनुभएको छ । जिल्लाभरिका द्वन्द्व प्रभावित महिलाहरुलाई संगठित गर्ने र महिलाहरुलाई न्यायका लागि आवाज उठाउन सशक्त गर्ने उदेश्य सहित यस संजालको गठन गरिएको संस्थाका अध्यक्ष खरेलले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष पार्वती खड्काले १० बर्षे शसस्त्र द्वन्द्वबाट प्रभावित महिलाहरुलाई संगठित गर्दै न्यायका लागि पहल गर्न र सरोकारवाला निकायलाई झकझकाउन सञ्जाल गठन गरिएको बताउनुभयो । शान्ती सम्झौता भएको १६ बर्ष वितिसक्दा पनि महिलाका सवालमा राज्य मौन रहेको र महिलाको योगदानको कहि कतै कदर हुन नसकेको उहाँको भनाई थियो ।
सचिव सपना रानाले द्वन्दको बेला महिलाले भोगेका भोगाई र पीडा विसाउने सुरक्षित स्थान समेत नभएको र घाइते शरिर लिएर हिड्नुपर्ने अवस्थाका महिलाहरुले द्वन्दको घाउ विसाउने चौतारी समेत नपाएकाले महिलाहरुको मात्र संगठन आवश्यक भएको बताउनुभयो ।
आदर्श नारी विकास केन्द्र, द स्टोरी किचन र युरोपियन युनियनको सहयोगमा सञ्चालित न्यायका लागि सहास २.० परियोजना अन्तर्गत सो भेला गरिएको हो ।









