चितवन । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले मंसीर ४ मा राष्ट्रवादी नेताहरुले जित्ने दाबी गर्नुभएको छ । राप्रपा क्षेत्रीय समिति क्षेत्र नम्बर १ चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पाण्डेले मंसीर ४ लाई जनताको जित हुने दिन बनाउन आव्हान गर्नुभएको छ ।
सत्तामा रहेका दलहरुका कामबाट आजित भएकाले जनताले विकल्प खोजिरहेको बताउनुभयो । उहाँले सम्भावनानै सम्भावना भएको देशलाई कंगाल बनाउने र विदेशीको इशारामा चल्ने र काम गर्नेहरुलाई हराउन जनताहरु लाग्ने दाबी गर्नुभयो । “देशलाई बचाउने बेला आएको छ, अहिलेसम्मकै सबै विकृति र विसंगतीलाई लखेट्ने दिन आउदैछ”, उहाँले भन्नुभयो, “ आसुरहरुलाई नाश गरेर दुर्गाले नयाँ दुनियाको रचना गर्नुभयो, यसपाली जनताको जित हुने आशिर्वाद मागेको छु ।”
विदेशीको चलखेल रोक्नलाई राष्ट्रवादी नेताहरुलाई भोट हाल्न जनताहरु उत्साहित भएको बताउनुभयो । उहाँले हरेक जमघटहरुमा युवाहरुलाई भेट्नै कठिन भएको बताउँदै स्वदेश फर्काउने अभियान चलाइने बताउनुभयो । उहाँले हिन्दुराज्य र राजसंस्था हटाएर संस्कारमाथिनै प्रहार भएको जीकिर गर्नुभयो । “हिन्दुराज्य किन हटाएको ? यहाँबाट राजसंस्था किन हटाएको ?”, उहाँले प्रश्न गर्नुभयो, “रितिरिवाज, संस्कारहरु विलय बनाउने प्रयास भैरहेका छन्, अब नेपालीहरु एक्यवद्ध बन्छन्, राष्ट्रवादी नेताहरु जिताएर देश जोगाउनेछन् ।”
उहाँले युवा पुस्ताहरुले मौलिक पर्वको महत्व, मनाउने विधिहरुनै भूल्न थालेको तर्क गर्नुभयो । पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने योजनामा हुनुहुन्छ । उहाँ यसअघि २०७० मा दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित भएपछि वनमन्त्री समेत बन्नुभएको थियो ।








