चितवन । पूर्वी चितवनको राप्तीमा प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप फुटबल हुने भएको छ । पिप्ले युवा समाज राप्ती नगरपालिका १ को आयोजनामा असोज २१ गतेदेखि प्रतियोगिता हुने भएको हो । कार्तिक ५ गतेसम्म चल्ने प्रतियोगिताको बागमती प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उद्घाटन गर्ने आज (मंगलबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।
पिप्ले युवा समाजको मैदानमा हुने प्रतियोगितामा बागमती प्रदेशसँगै गण्डकी र मधेश प्रदेशका १६ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उद्घाटन खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब र निजगढ युथ क्लब बारा भिड्ने प्रतियोगिता संयोजक चिरञ्जिवी पाठकले बताए । खेल दिउँसो २ बजे सुरु हुनेछ । विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार प्राप्त गर्ने पाठकले बताए । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । दर्शकका लागि दुई हजार क्षमताको अस्थाई प्याराफिट निर्माण गरिएको छ । क्वाटर फाइनलसम्मको खेलका ३० रुपैयाँको टिकट तथा सेमिफाइनल र फाइनलका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उनले बताए । पाठकका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि २४ हजार ५० हजार खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताबाट बचेको रकम राप्तीमा स्पोर्टस एकेडेमी बनाउनका लागि खर्च गर्ने आयोजकको योजना छ । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले अहिले राष्ट्रिय टिमको बन्द प्रशिक्षण नरहेकोले बिभिन्न क्लबबाट राष्ट्रिय खेलाडी सहभागी हुने बताए । उनले पिप्लेमा हुने प्रतियोगिता स्तरीय हुने विश्वास व्यक्त गरे ।








