काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत शुक्रबार पहिरोमा पुरिएका १९ जनाको मात्रै शव भेटिएको छ। पहिरोमा ३९ जना बेपत्ता भएकोमा हिजो बेलुकीसम्म जम्मा १८ जनाको मात्रै शव भेटिएको थियो। आज विहान थप एक जनाको शव भेटिएको र खोजी कार्य जारी रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधव काफ्ले जानकारी दिए। सेना, प्रहरी र स्थानीयले पुरिएकाहरूको खोजि गर्दा भेट्टाउन मुस्किल भएकोले डोजर मगाइएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बताइन्।
डोजर जाने सडक नभएकोले खन्दै जानुपर्ने हुँदा समय लाग्ने उनको भनाइ छ। अहिले पहिरो पीडितहरुलाई स्वास्थ्यका हेल्थ डेस्क स्थापना गर्ने र खानेपानीको ब्यवस्था गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ। यसैबीच पहिरोमा परी ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ राहत पाउने भएका छन्। विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो। यस्तै दुवै अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको गाउँपालिकाले जनाएको छ।








