चितवन । नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुई/तीन वर्षको केटो खोजीका लागि सम्बन्धित पोष्टबाट परिचालन गरिएको भए पनि उद्धार गर्न नसकिएको हो । उहाँले भन्नुभयो, “कतै उत्रियो वा बगेर गयो, थाहा हुन सकेन ।” यसअघि विसं २०७४ मा आएको बाढीसँगै बढेको राप्ती र नारायणीले बगाएर धेरै गैँडा भारत पुगेका थिए । भारत र नेपाली सीमाबाट १३ वटा गैँडा उद्धार गरी निकुञ्ज ल्याइएको थियो । अरु थप गैँडा भारतीय भूमिमा भएको अनुमान छ । यस वर्ष पनि गत साता राप्ती नदीमा डुबेको अवस्थामा गैँडा मृत भेटिएको थियो ।








