चितवन । लागत मूल्य भन्दा निकै कममा बिक्रि भई रहेको अण्डाको मूल्य वढ्न थालेको छ । बजारमा माग वढ्दै गए पछि शनिवारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु ३६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक संघको बैंठकले बिक्रि मुल्य तय गरेको हो ।
यस अघि अण्डाको मूल्य प्रतिक्रेट रु ३०० मा बिक्रि हुदैं आएको थियो । संघका अध्यक्ष बिनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रति क्रेट रु ४३५ पर्न आउँछ । उहाँले भन्नुभयो “पाँच वर्ष अघि दानाको मूल्य प्रति किलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु ३ सयमा बिक्रि हुन्थ्यो । अहिले दाना प्रति किलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।” औषधि लगाएत अन्यमा पनि मूल्य दोब्बर भएको उहाँको भनाई छ । एक वर्ष ६ महिना अघि अण्डाको मूल्य प्रति क्रेट रु ४०५ पुगेर एकोहोरो ओरालो लागेको हो ।
त्यतेविले खुद्रा मुल्य प्रति गोटा रु १६ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एबं व्यवसायीहरु संगठीत भएर व्यवसया बचाउन लागि परेको उहाँ बताउनुहुन्छ । हालै मात्र देशभरका धेरै कुखुरा पाल्ने व्यवसायीहरु संगठीत भएर अघि वढेका हुन । पोख्रेलले लागत मूल्य सम्म पाउन सके पनि कृषकहरु बच्न सक्ने बताउनुभयो । हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोव्वर हुने व्यवसायीहरु वताउँछन् ।
बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नु पर्ने व्यवसायीहरुको भनाई छ । पोख्रेलले भन्नुभयो “सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्रि व्यवसाय धरासायी हुन्छ ।” नीजि क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु १ खर्ब भन्दा बढि लगानी रहेको छ । जसको आधाभन्दा बढि बैंकको ऋण भएको व्यवसायी बताउँछन् ।








