काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिवाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको छ। हाल देश भर सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








