रत्ननगर । रत्ननगर नगरपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता टिकौली चौरमा सुरु भएको छ । प्रतियोगिताको रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरे । नगर प्रमुख सापकोटाले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए ।
उनले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको धारणा राख्दै कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने बताए । विभिन्न खेल समावेश प्रतियोगितामा रत्ननगरका ३० विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसु लगाएतका खेलहरु सञ्चालन हुनेछन् ।
खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उप मेययर यादव प्रसाद पाठक, निवर्तमान मेयर नारायण वन लगाएतले मन्तव्य राखेका थिए । विद्यालयस्तरीय प्रतियोगिता माघ १४ देखि १६ गते सम्म चल्नेछ ।








