चितवन । भरतपुर ८ गौरीगन्ज चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नक आउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (शनिबार) सम्पन्न क्वाटरफाइनल खेलमा कठार एफसीलाई १-० ले पाखा लगाउदै गौरीगन्जले सेमिफाइनलमा स्थान बनाएको हो ।
उसको जितमा राजेश पौडेलले गोल गरे । उक्त गोल नै गौरीगन्जलाई सेमिफाइनलमा स्थान बनाउन पर्याप्त भयो । निर्णायक गोल गरेका राजेश नै म्यान अफ दि म्याच चुनिए । प्रतियोगितामा आइतबार चौधरी मोटर्स खैरहनी र कालिका २ भिड्नेछन् ।
जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा प्रतियोगिता आयोजना भएको हो । १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए ।








