काठमाडौं । भक्तपुरमा कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका बासिन्दा उनको आइतबार विहान मृत्यु भएकोजिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।
उच्च रक्तचाप र महुमेहको समस्या देखिएका ती पुरुषमा कोरोना संक्रमणको लक्षण भने देखिएको थिएन । उनी आफैं खाना खान नसक्ने भएकाले परिवारकै आग्रहमा होम आइसोलेसनमा राखिएको मिजारले बताए ।
‘भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए’ मिजारले भने, ‘घरमै बसेको बेला आज बिहान उनको मृत्यु भएछ ।’
मृत्यु भएपछि मात्र परिवारका सदस्यले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको जनस्वास्थ्य अधिकृत मिजारले बताए । ‘केही समस्या भए फोन गर्नू अस्पताल लान्छौ भनेका थियौं, तर मृत्यु भएपछि मात्रै खबर आएछ’ उनले भने ।








