हेटौंडा । मकवानपुरमा निषेधाज्ञाको ढाँचा मंगलबारबाट परिवर्तन हुने भएको छ । सोमबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई भदौं २५ गतेसम्म निरन्तरता दिंदै ढाँचामा परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले विहान ६ बजेदेखि १० बजेसम्म सबैखाले पसल संचालन गर्न दिने र विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बैंक संचालन हुन दिने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । खाद्यान्न लगायतका सामग्री लोड अनलोडको समय भने बेलुका ७ बजेदेखि विहान ५ बजेसम्मलाई निर्धारण गरिएको छ । मकवानपुरमा हेटौंडा उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहमा यसअघिदेखि नै निषेधाज्ञा जारी गरिएको छ । मकवानपुरका निषेधाज्ञा जारी भएका स्थानीय तहहरुले सोही अनुसार व्यवस्था गनुपर्ने जनाईएको छ । निषेधाज्ञाको विस्तृत विवरण जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जानकारी दिने जनाईएको छ ।








