चितवन । लामो समय देखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य भएका कृषकले लागत मूल्य पाउन थालेका छन् । पछिल्लो समय अण्डाको मूल्य बढेसँगै लागत मूल्य पाउन थालेका हुन् । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने कृषकहरुको भनाई छ । पछिल्लो समय अण्डाको मूल्य रु.४५० प्रतिक्रेट (३० वटाको) फार्म मूल्य तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक संघका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा रु.१७ हुन आउँछ ।
कृषकले हाल रु.१५ पाएका छन् । उहाँको भनाईमा अहिले चल्लाको मूल्य रु.१५० पर्दछ । २० हप्तामा कुखुराले अण्डा दिन थाल्दछ । यतिबेलासम्म एउटा कुखुराले ८ किलो ५०० ग्राम दाना खान्छ । सामान्यतया यो दानाको मूल्य प्रतिकिलो रु.७० पर्दछ । यसलाई हिसाब गर्दा यतिबेलासम्म एउटा कुखुराले रु.५९५ को दाना खान्छ । कुखुराले ८० हप्तासम्म अण्डा दिने भन्दै उहाँले यो अवधिमा ४९.५ किलो दाना खाने बताउनुभयो । यो दानाको मूल्य सामान्यतया प्रतिकिलो रु.६५ पर्दछ । यो अवधिमा एउटा कुखुराले रु.३ हजार २१८ को दाना खान्छ । यस्तै एउटा कुखुराको औषधि, खोप, उपचारमा रु.१६५ खर्च हुने उहाँको भनाई छ ।
यसरी हेर्दा एउटा कुखुरालाई रु.४ हजार १२८ खर्च हुने ढकाल बताउनुहुन्छ । यो कुखुराले आफ्नो जीवनभरमा ३५० वटा अण्डा पार्दछ । यसलाई हिसाब गर्दा एउटा अण्डाको रु.११ पैसा ८० पर्ने उहाँ बताउनुहुन्छ । यसका अतिरिक्त विद्युत, इन्धन, कर्मचारी र प्रशासनिक खर्चमा एउटा अण्डाको रु. १.५० खर्च हुन्छ । बैंक व्याज रु.१.५० प्रति अण्डा आउने उहाँको भनाई छ । यसरी हेर्दा एउटा अण्डाको उत्पादन लागत रु.१४.८० पर्ने ढकालको दावी छ । उहाँले थप्नुभयो “बैंकको लगानीको किस्ता तिर्दै गर्दा एउटा अण्डाको लागत मूल्य रु.१७ पर्न आउँछ ।” विगतको समयमा भएको नोक्सानलाई पूर्ति गर्ने हो भने अरु थप लागत मूल्य बढेर जान्छ ।
अबको समयमा केही हदसम्म अण्डाको मूल्य बढेमा कृषकले लागत मूल्य पाएर विगतको नोक्सानलाई पूर्ति गर्न सक्ने उहाँको भनाई छ । संघका अध्यक्ष बिनोद पोखरेलले ३० प्रतिशत हाराहारी कृषक विस्थापित भईसकेको बताउनुभयो । उहाँले भन्नुभयो “अब पनि लागत मूल्य पाउन सकिएन भने नेपालमा आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी भएर जानेछ ।” झण्डै एक वर्ष यता स्वयं व्यवसायीहरुको अग्रसरतामा गरिएको बजारीकरण पछि अण्डाले मूल्य पाएको भन्दै उहाँले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गरिदिनुपर्ने बताउनुभयो । आँफु र आफ्नो समुह अण्डा बजारीकरणका लागि बिगत एक वर्षमा देशका अधिकांश जिल्ला पुगेको बताउनुभयो ।
धेरै कृषक ऋण तिर्न सक्ने अवस्थामा नरहेको भन्दै उहाँले केही ऋण थपेर उनीहरुलाई पुनः पेशामा फर्किन राज्यबाट सहयोग हुनुपर्ने बताउनुभयो । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले कोभिडको समयपछि एकाएक अण्डाको मूल्य घटेसँगै कृषक धरासायी हुँदै गएको बताउनुभयो । पोल्ट्री क्षेत्रमा रु.२ खर्बभन्दा बढी लगानी भएको भन्दै उहाँले यसको ४० प्रतिशत हाराहारी लेयर्स कुखुरा पालनमा खर्च भएको बताउनुभयो । जसमध्ये धेरै बैंकिङ्ग ऋणमा रहेको उहाँ बताउनुहुन्छ ।
उहाँले गुनासो गर्नुभयो “हाम्रो अवस्था कुखुरा बेचेर बाँकी कुखुरालाई दाना खुवाएर बचाउनु पर्ने अवस्थामा हामी पुग्यौं ।” नेपाल लेयर्स कुखुरा पालक संघका सचिव मदन पोखरेलले १० वर्ष पहिले एक क्रेट (३० वटा) अण्डाको मूल्य रु तीन सयमा बिक्री हुँदै आएको भन्दै अहिलेको मूल्यले लागत धान्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु.७० पर्दा अण्डाको मूल्य उस्तैउस्तै छ ।”
दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले एकिन तथ्यांक नभएपनि ३५ लाख हाराहारी मात्रै उत्पादन हुने गरेको छ । दाना, औषधि, मजदुर, बैंक व्याज लगायतको खर्च अत्याधिक बढ्दा समेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि कृषकहरु विस्थापित हुने चरणमा पुगेका छन् ।








