चितवन। नारायणी नदीको सतहले खतराको विन्दु पार गरेपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सतर्कता अपानउन आग्रह गर्नुभएको छ ।आज विहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख दाहालले भन्नुभएको छ, ‘यस समयमा विपद् जोखिम कम गर्न एवं संभावित जोखिमबाट सुरक्षित हुन सावधानि अपनाइ आफू र समुदायलाई सुरक्षित राख्न आपसी सहयोग, समन्वय र सहकार्य गर्न सबै वडा कार्यालय, टोल विकास संस्था, स्थानीय युवा सञ्जाल एवं सम्पूर्ण महानगरवासीहरुमा हार्दिक अपिल गर्दछु ।’
विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।








