काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९६१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।








