भरतपुर । आकर्षक डिजाइनमा भौतिक संरचना निर्माण गरिँदा जिल्ला प्रहरी कार्यालय चितवनको स्वरुप नै फेरिएको छ । जिल्लाको प्रहरी प्रमुखको रुपमा नेतृत्व सम्हालेपछि प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले कार्यालयको संरचना निर्माणसँगै प्रहरीको आनीबानीमा ध्यान पु¥याएपछि कार्यालयको स्वरुप नै फेरिएको हो । 
प्रहरी उपरीक्षक कार्कीले आफ्नो कार्यकालमा कार्यालयको प्रांगणमा यात्रु प्रतिक्षालयदेखि अन्य विभिन्न भौतिक संरचना निर्माण गरेका छन् । प्रहरी कार्यालयभित्र बनाइएको संरचनाको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले गरेकी छिन् । जिल्ला प्रहरी कार्यालयमा कामका लागि आउने सर्वसाधारणहरुलाई बस्नको लागि ठाउँ नभएको देखेपछि प्रहरी उपरीक्षक कार्कीले स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरुको आर्थिक सहयोगमा प्रतिक्षालयसहितका संरचना निर्माण गर्न लगाएका हुन् ।

प्रहरी उपरीक्षक कार्कीको सक्रियतामा प्रहरी कार्यालयको हाताभित्र दुर्गा मन्दिरदेखि, सर्वसाधरण बस्ने प्रतिक्षालय, बच्चासँगै आउने महिलाहरुको लागि स्तनपान कक्ष, बालबालिकाहरु खेल्नका लागि बाल उद्यान निर्माण गरिएको छ । त्यस्तै वर्षात्को समयमा पानीले हिँडडुलमा हुने समस्याको समेत समाधान भएको प्रहरी उपरीक्षक कार्कीले बताए । यसअघि बर्सात्को समयमा पानी पर्दा कार्यालयमा पानी जमेर हिँडडुल गर्नै समस्या हुने गरेको थियो । 
अहिले प्रहरी उपरीक्षक कार्कीले नेतृत्व गरेको जिप्रका चितवनमा हालका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त बहादुर कुँवर, हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) दीपक थापा समेत बसेका थिए । उनीहरुले समेत कार्यालयको मात्रै नभएर शान्ति सुरक्षाको हिसाबले चितवन जिल्लाकै मुहार फेर्ने काम गरेका थिए ।








