काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । हाल देशका प्रदेश १, प्रदेश २, र बागमती प्रदेश मा सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरुमा हल्का बर्षा भएको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । जारी सूचनाका अनुसार दिउँसो प्रदेश १, प्रदेश २, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।यस्तै, राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरूमा र बागमती र गण्डकी प्रदेशका एक-दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








