चितवन । पहाड र समथर भुभाग मिलेर बनेको चितवनको राप्ती नगरपालिकामा गत आर्थिक बर्षमा ३४ किलोमिटर भन्दा बढी नयाँ ट्रयाक खोल्ने र बाटो बिस्तारको काम भएको छ। कोरोना भाइरस संक्रमणका कारण ढिलो गरि शुक्रबार आयोजित आर्थिक बर्ष २०६७/०७७ को समिक्षा बैठकमा प्रस्तुत प्रतिबेदनमा गत बर्ष ३४ किलोमीटर १०३ मिटर नयाँ ट्रयाक र बाटो चौडा गर्ने कम भएको उल्लेख छ । नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत गंगा बहादुर भुजेलले पहाडी वडा र समथर भुभाग रहेको वडाहरुमा सो बराबरको काम भएको बताए । गत आर्थिक बर्षमा ३४ किलोमीटर ८६८ मिटर बाटोमा ग्रावेल र मर्मत,२ किलोमीटर ७७ मिटर कालोपत्रे र १ किलोमीटर ८२२ मिटर बाटो ढलान गरिएको भुजेलले बताए । पुर्बाधार बिकास अन्तर्गतनै ४१७ मिटर मोजाइक टायल बिछ्याउने काम भएको छ । समिक्षा बैठकमा सहभागीहरुले बजेट फ्रीज नहुने गरि काम गर्न सुझाव दिए । नेकपा राप्ती नगर इन्चार्ज मानबहादुर स्याङ्बो लगायतले कृषि र पशुको क्षेत्रमा बिनियोजित बजेट फ्रीज हुन दिन नहुनेमा जोड दिए । राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले बिनियोजित बजेट कार्यान्वयनलाई शतप्रतिशत पुर्याइने प्रतिबद्धता जनाए । कोरोनाका कारण गत बर्षको अन्तिम तिर काम गर्न नपाइएको उपमेयर लामाको भनाइ थियो । मेयर प्रभा बरालले कोरोना भाइरस प्रभाव रहे पनि ८४% काम गर्न सफल भएको बताइन् । कोरोनाकै कारण भएका कामको अनुगमनमा समेत समस्या आएको उनको भनाइ थियो । मेयर बरालको अध्यक्षतामा भएको बैठकमा नगरपालिकाका सल्लाहकारहरु,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुख , पत्रकारहरुको उपस्थिति रहेको थियो ।








