चितवन। भन्सार छलेर ल्याउदै गरेको कपडा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज (आइतबार) विहान साढे ४ बजे अवैध रुपमा ल्याउदै गरेको कपडा सहित २ जनालाई पक्राउ गरेको छ । भरतपुर–३ शहिदचोकमा रोकिराखेको लु. २ ख. ३४० नम्बर ट्रक चेकजाँचका क्रममा भन्सार छलेर कपडा ल्याइएको भेटिएको थियो ।
करिब ४ लाख ७५ हजार बराबरको लत्ता कपडाको १० पोका फेला पारेको थियो । ९ सय ५० थान कुर्ता सलवार सहितका पोका प्रहरीले बरामद गरेको हो । ट्रक र ट्रक चालक समेत नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ट्रक चालक नवलपरासी पश्चिम सरावल गाउपालिका वडा नम्बर ३ का रामबहादुर चौधरी र मिना केसीलाई नियन्त्रणमा लिएर कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले कटेजभित्र लुकिछिपि जुवातास खेलेका ५ जनालाई पक्राउ गरेको छ । कालिका ४ स्थित ग्रिन टप कटेजमा जुवातास खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय टाँडी चितवनवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेल्ने कार्यमा प्रयोग भएको तास एक बुक र नगद २ लाख २९ हजार ७ सय ८० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकालाई जुवा कसुर अन्र्तगत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । जुवातास खेल्ने समूहमा कालिका–४ का २ जना, ५ का १ जना, गैडाकोट–२ का २ जना पक्राउ परेका छन् ।








