गैंडाकोट । नवलपुरको कावासोतीमा लागु औषध ओसारपसार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका वडा नं. १६ चालिसकिलो स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा प्रहरी टोलीद्वारा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लु १ ख ८०७१ नं. को बसमा एकजना ओसार पसार गर्ने युवासहित लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । लागु औषध सहित उक्त बसमा सवार जिल्ला नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका वडा नं. ४ बस्ने २४ वर्षिय राजिन बि.क.लाई उनको साथमा रहेको लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले लागु औषध डाईजापाम २० एम्पुल, आई पि पि एल २० एम्पुल, फेनारगन २० एम्पुल, ओनरेक्स १०० एमएलको ३२ बोतल र नाईट्रोभेट १० लेखिएको ३० ट्याबलेट फेला पारी उक्त लागु औषध बरामद गरेको छ । पक्राउ परेका बिकलाई लागु औषध मुद्धामा नवलपुर जिल्ला अदालतबाट सोमबारदेखि लागु हुनेगरी दिन १० (दश) को म्याद थप समेत लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले बताए । अहिले लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको पनि प्रहरीले जनाएको छ ।








