काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम तथा नियान्त्रणमा सरकारका १० वटा कमजोरी औल्याएको छ । क्वारेन्टिन र आइसोलेसनको व्यवस्थापन, पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र बिरामीको उपचारलगायत कोरोना महामारी नियन्त्रण र रोकथामका सबैजसो काममा सरकार असफल भएको प्रतिवेदन कांग्रेसको कोभिड—१९ अनुगमन समितिले सभापति शेरबहादुर देउवालाई बुझाएको छ । कोरोना संक्रमितको जीवन बचाउने औषधीहरुको समेत खुलेआम कालोबजारी भइरहेको कांग्रेसले लगाएको छ । कांग्रेसले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘नेपालको वर्तमान नेकपा सरकारले आम जनताका पीडा कम गर्ने प्रयत्न नगरेको मात्र होइन, गरैजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थितिलाई थप जोखिमपूर्ण र भयावह बनाएको छ । जनताको जीवन र जीविकोपार्जन दुवैलाई सघाउन वर्तमान सरकार पूर्णतः अक्षम सावित भएको छ ।’ चार महिना लामो लकडाउन र थप एक महिना लामो निषेधाज्ञालाई सरकारले कोरोना संक्रमण नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण, क्वारेन्टिन र आइसोलेसनको समुचित व्यवस्था, अत्यावश्यकीय उपकरण र औषधि खरीद गर्नमा सदुपयोग गर्ने असल मनसाय नै नराखेको कांग्रेसको आरोप छ । प्रेस नोटमा भनिएको छ, ‘अहिले आईसीयू बेड, भेन्टिलेटर र रेमडेसिभिरजस्ता औषधिहरु अपर्याप्त भएको गुनासो सरकारले नै गर्न थालेको छ । एकातर्पm, लकडाउनको अवधिमा आईसीयू बेडको संख्या ९ सयबाट २ हजार ६ सय र भेन्टिलेटरको संख्या ८० बाट १ हजार पुर्याएको दावी गर्ने र अर्कोतर्फ आईसीयूमा २ सय र भेन्टिलेटरमा ५० बिरामी भर्ना हुँदैमा यी दुवैको अभाव भएको घोषणा गर्ने सरकारी रवैया जनतालाई झुक्याउन मात्र भएको देखिन्छ ।’ महामारीबाट प्रभावित भएको शैक्षिक क्षेत्रलाई मार्गनिर्देशन गर्न पनि सरकार चुकेको आरोप कांग्रेसले लगाएको छ । कांग्रेसले कोरोना रोकथामका लागि सरकारलाई ८ बुँदे सुझाव पनि दिएको छ । कोरोना संक्रमणको भयावह स्थितिलाई गम्भीरताका साथ लिंदै संक्रमणको जोखिमलाई व्यवस्थापन गर्न क्वारेन्टिन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर, यथेष्ट संख्यामा अस्पताल बेड, अत्यावश्यकीय औषधिहरुको कालोबजारी रोक्न र आपूर्ति सहज गर्न तथा स्वास्थ्य सुरक्षाका उपकरणहरु र आवश्यक स्वास्थ्यकर्मीहरुको अविलम्व व्यवस्था गर्न कांग्रेसले सरकारसँग माग गरेको छ । नजिकै आउँदै गरेका दसैंलगायत विभिन्न चाडपर्वको बेलामा काठमाडौंलगायत सहरबाट ठूलो संख्यामा मानिसहरु आ–आफ्नो घरगाउँ फर्कने भएकोले गाउँ वस्तीमा संक्रमणलाई फैलन नदिन एसएमएस (भौतिक दुरी, मास्क र स्यानिटाइजर) विधिको पालना गराउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कांग्रेसले आग्रह गरेको छ । त्यस्तै यात्रा गर्दा यातायातका साधनहरुमा स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाउनुका साथै त्यसको अनुगमनको व्यवस्था मिलाउन कांग्रेसले सरकारलाई भनेको छ ।








