चितवन। चितवनमा आजबाट औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला शुरु भएको छ।चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा आजदेखि शुरु भएको मेला यहि बैशाख ११ गते सम्म चल्नेछ ।
उद्योग संघ र कम्प्युटर एशोसिएशन नेपाल महासघं चितवनले भरतपुर मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले गर्न लागेको लगानी सम्मेलनमा बिगतका अनुभवलाई आत्मसात गर्दै सफल बनाउन लागिपरेको बताउनुभयो। मन्त्री भण्डारीले उद्योगी व्यवसायीले महसुस गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याइने बताउनुभयो ।
मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने जानकारी गराउनुभयो । उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिती आउन नदिन सरकार लागिपरेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्यानका अध्यक्ष रन्जित कुमार पोद्धारले सूचना प्रबिधिलाई पनि उद्योग सरहको मान्यता दिनुपर्ने बताउनु भयो।पोद्धारले उद्योगहरुलाई दिने सहुलियत सूचना र प्रबिधिमा काम गर्नेहरुले पनि पाउनुपर्ने माग राख्नु भयो । देशको अर्थतन्त्रलाई बलियो बनाउने हो भने सूचना प्रबिधिका उद्योगलाई प्राथमिकता दिनुपर्ने पोद्धारले बताउनुभयो।
नवप्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवालाई उद्यमशिलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता प्रदर्शनीले सहयोग पु¥याउने चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपाने बताउनुभयो ।
उहाँले आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्न सहयोग पुग्ने बताउनु भयो । स्वदेशी तथा विदेशी गरी २५ हजार बढी अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब १५० स्टलहरु रहेका छन् ।








