चितवन । हरेक वर्ष सङ्घ संस्थाले जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण गर्ने गरेका छन् । ती रोपिएका बिरुवा संरक्षण भए नभएको वास्तविक तथ्याङ्क भने कुनै निकायसँग छैन । डिभिजन वन कार्यालय चितवनमा हुर्काइएका बिरुवा हरेक वर्ष विभिन्न अवसर पारेर रोप्ने गरिन्छ । गत वर्ष दुई लाख चार हजार ७४ बिरुवा रोपिएको थियो ।
ती बिरुवामध्ये कति बिरुवा हुर्किए र कति मरे भन्ने वास्तविक तथ्याङ्क कार्यालयसँग छैन । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार यहाँ हुर्काइएका कपुर, धुपी, म्याङ्गोस्टिक, अम्बा, कागती, चाप, अर्जुनालगायतका बिरुवा हरेक वर्ष रोप्ने गरिएको छ । गत वर्ष जिल्लाका २९ वटा संस्थाले एक हजारका दरले बिरुवा लगेका थिए । लगिएका बिरुवामध्ये बहुवर्षीय र मौसमी बिरुवा थिए । उहाँका अनुसार बहुवर्षीय बिरुवा ६० प्रतिशत र मौसमी बिरुवा ४० प्रतिशत हाराहारी बाँच्ने गर्छ ।
उहाँले भन्नुभयो, “बहुवर्षीय बिरुवाको जरा बलियो हुने भएकाले धेरै बाँच्ने गर्छ ।” बिरुवा लगेर बाँड्ने भन्दै सङ्घ संस्थाले लगेका बिरुवा राम्रो संग संरक्षण नगर्दा मर्ने गरेको उहाँले बताउनुभयो । बिरुवा वितरण गरेका सङ्घ संस्थाले नियमित अनुगमन नगर्दा यस्तो समस्या देखिएको उहाँको भनाइ छ । बिरुवाको सदुपयोग नभए पछि कार्यालयले यस वर्षबाट विरुवा वितरणमा कडाइ गरेको छ । उहाँले भन्नुभयो, “अहिले हामीले बिरुवा रोप्ने व्यक्ति स्वयं आएमा मात्र बिरुवा दिने भनेका छाँै ।
एउटा संस्था वा व्यक्तिले धेरै बिरुवा लगेर नरोपिकन फाल्ने गरेको पाइएपछि यस्तो गर्न लागिएको हो ।” बिरुवा दिइएका व्यक्तिको सम्पूर्ण विवरण राखेर कार्यालयले कडाइका साथ अनुगमन गर्ने योजना बनाएको छ । यस वर्ष कार्यालयले एक लाख २० हजार बिरुवा वितरण गर्ने तयारी गरेको छ । हरेक वर्ष असार १४ गतेबाट बिरुवा वितरण गर्ने गरिएको उहाँले बताउनुभयो ।
वितरण गर्न लागिएका बिरुवामध्ये ७० हजार बिरुवा बहुवर्षीय र ५० हजार बिरुवा मौसमी रहेको कार्यालयले जनाएको छ । यसै क्रममा विश्व वातावरण दिवसको अवसरमा आज जिल्लाका ३२ वटा संस्थाले एक हजार चार सय ६० बिरुवा रोपेको डिभिजन वन कार्यालयले जनाएको छ ।








